Wednesday, December 24, 2008

SHOES TO BUSH




* अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गर्ने मुन्तादार अल-जइदी कायरोस्थित टेलिभिजन स्टेसन अल बग्दादियाका इराक रिपोर्टर हुन् । इराकयुद्धका कारण भएका विधवा, टुहुरा र बालबालिकाका पीडाबारे जइदीका रिपोर्टले प्रतिविम्बित गर्छन् । २००७ मा संयुक्तराज्य अमेरिकाका सैनिकद्वारा उनी दुईपटक गिरफ्तार भएका थिए । यतिखेर डिसेम्बर १४ मा पत्रकार-सम्मेलनमा बोलिरहेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गरेर उनी विश्वभर चर्चित र लोकपि्रय बनेका छन् ।


* २९ वर्षका अविवाहित जइदीले बग्दादको बग्दादिया युनिभर्सिटीबाट सञ्चार विषयमा डिग्री हासिल गरेका छन् । उनले बग्दादिया टेलिभिजन स्टेसनमा २००५ देखि काम गर्न थालेका थिए । २००७ मा बग्दादका सशस्त्र समूहले उनको अपहरण गरेपछि उनी पहिलोपटक विश्वभर चिनिएका थिए । त्यही वर्ष उनलाई अमेरिकी सेनाले दुईपटक गिरफ्तार गरेको थियो । उनी बग्दादमा दुईकोठे एपार्टमेन्टमा परिवारसाथ बस्छन् । उनको कोठा चे ग्वेभाराको तस्बिरले सजाइएको छ । मध्यपूर्वमा चे ग्वेभारा निकै लोकपि्रय छन् ।

बुसलाई जुत्ता प्रहार गर्न कसैले उनलाई पैसा दिएको वा उक्साएका बारेमा सुरक्षाकर्मीले छानबिन गरिरहेका छन्
* 'उनको अहिलेसम्मको सबैभन्दा राम्रो रिपोर्ट स्कुले केटी जाहाराका बारेमा थियो । स्कुल जाँदै गर्दा अमेरिकी सेनाको आक्रमणमा परेर ती केटीको मृत्यु भएको थियो,’ जइदीका नजिकका मिल्ने साथी तथा सहकर्मी अहमद अला भन्छन् । जइदीले जाहाराका परिवार, छिमेकी, साथीभाइलगायत यस घटनाको पूर्ण रिपोर्ट बनाएका थिए । यस रिपोर्टबाट उनले कैयौँ इराकीको विश्वास र माया बटुलेका थिए । इराकमा अमेरिकी सेनाको उपस्थितिको समर्थन गर्न गरिएको आग्रहलाईर् जइदीले ठाडै अस्वीकार गरेका थिए ।

* २००७ नोभेम्बरमा आफ्नो कार्यालय जाँदै गर्दा उनलाई मध्यबग्दादबाट अपहरण गरिएको थियो । तीन दिनपछि उनलाई कुनै फिरौती मागविना छाडियो । जइदीको परिवार अल कायदाले उनको अपहरण गरेको बताउँछ ।
* इराकमा आयोजित पत्रकार-सम्मेलनका वेला जइदीले अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गरेका थिए । मुस्लिम विश्वमा कसैलाई जुत्ता प्रहार गर्नु अत्यन्त अपमानजनक मानिन्छ ।

* 'यो बिदाइका वेलाको चुम्बन हो, कुकुर,’ पहिलो जुत्ता प्रहार गर्दै जइदीले भने । पहिलो जुत्ता बुसलाई लागेन । त्यसपछि फेरि जइदीले चिच्याउँदै दोस्रो जुत्ता हाने र भने, 'यो जुत्ता-चुम्बन इराकमा मारिएका व्यक्ति, विधवा र टुहुराका तर्फबाट हो ।’
* दुवैपटकको प्रहार छल्न बुस सफल भए । जइदीलाई हतार-हतार अन्य पत्रकारले समाते । त्यसपछि, इराकी प्रधानमन्त्री नुरी अल-मलिकीका सुरक्षागार्डले उनलाई लछार-पछार गर्दै कोठाबाहिर लगे ।

* पत्रकार-सम्मेलनमा उपस्थित केही इराकी पत्रकारले राष्ट्रपति बुससँग माफी मागे । बुसले भने, 'इराकी जनताका तर्फबाट माफी मागेकामा धन्यवाद झ् यो जुत्ता प्रहारले मलाई खासै असर गर्दैन ।’ बुसले ठट्यौली पाराले भने, 'यदि, तपाईंलाई यस घटनाको पूर्ण विवरण चाहिन्छ भने, जुत्ता १० नम्बरको थियो ।’ यस घटनाका बारेमा रिपोर्टरले सोधेको प्रश्नमा बुसले भने, 'मानिसको ध्यानाकर्षण गर्ने यो एउटा तरिका हो । त्यस व्यक्तिको मनशाय के थियो, मलाई थाहा छैन ।’

* प्रत्यक्षदर्शीका अनुसार जइदीलाई पत्रकार-सम्मेलनको कोठाबाट बाहिर निकालेपछि सुरक्षाकर्मीले कुटपिट गरेको आरोप लगाइएको छ । जइदीको चिच्याहट बाहिरसम्म सुनिएको भने प्रत्यक्षदर्शीले बताएका छन् ।
* सुरक्षाकर्मीले जइदीलाई घिसारेर पत्रकार-सम्मेलन भइरहेको कोठाबाट बाहिर लैजाँदा कार्पेटमा रगतको ठूलो धब्बा देखिएको प्रत्यक्षदर्शीले बताए ।

* सुरक्षाकर्मीले जइदीको परिवारलाई धम्क्याएको जइदीका भाइले बताएका छन् । जइदीको मोबाइलमा फोन गर्दा सुरक्षाकर्मीले परिवारलाई धम्क्याएको उनले बताए । युनाइटेड स्टेट्स सेक्रेट सर्भिस र इराकी सुरक्षाकर्मीले जइदीलाई हिरासतमा लिएको छ । जइदीले मदिरापान र लागूपदार्थ लिए/नलिएका बारेमा जाँच गरिएको थियो । उनले बुसलाई प्रहार गरेको जुत्ता प्रमाणका लागि जफत गरिएको छ ।

* बुसलाई जुत्ता प्रहार गर्न कसैले उनलाई पैसा दिएको वा उक्साएका बारेमा सुरक्षाकर्मीले छानबिन गरिरहेका छन् । जइदीका भाइले छानबिनका क्रममा जइदीलाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेको आरोप लगाए । सुरक्षाकर्मीको कुटाइका कारण उनको हात, करङ भाँच्चिएको, आन्तरिक रक्तश्राव भएको, आँखामा चोटपटक लागेको उनका भाइ दुर्गह्याम अल-जइदीले बताएका छन् । बग्दादिया टेलिभिजनले पनि हिरासतमा जइदीलाई यातना दिइएको बताएको छ ।

* सद्दाम हुसेनलाई फाँसी दिनुअगाडि उनको मुद्दा लडेका खलिल अल-दुलायमीले जइदीका तर्फबाट मुद्दा लड्ने चाहना व्यक्त गरेका थिए । तर, जइदीले यो प्रस्ताव अस्वीकार गरे । आफ्नो प्रतिनिधित्व इराकी वकिलले गर्नुपर्ने चाहना जइदीले व्यक्त गरे । 'म जइदीको वकिल भएर उनको मुद्दाको प्रतिनिधित्व गर्छु । जइदीले केही अपराध नगरेकाले उनको केस बन्द गरिनुपर्ने र उनलाई रिहाइ गर्नुपर्ने मेरो माग हुनेछ,’ जाइदीका वकिल तथा युनियन अफ लयर्स इन इराकका अध्यक्ष देया सादीले भने, 'उनले अतिक्रमणकारीविरुद्ध आफ्नो विचार व्यक्त गरे । अन्तर्राष्ट्रिय कानुनअनुसार उनलाई यो अधिकार छ ।’
* जइदीको रिहाइको माग गर्दै हजारौँले प्रदर्शन गरेका छन् । बग्दादको सार्द सहरमा जइदीलाई 'नायक’ भन्दै र्‍याली निकालियो । प्रदर्शनकारीले जइदीको रिहाइको माग गरे । इराकको नजाफमा पनि त्यस्तै प्रदर्शन भयो । सार्द सहरमा भएको प्रदर्शनमा प्रदर्शनकारीले अमेरिकी सैनिकको गस्ती गाडीमा जुत्तासमेत प्रहार गरे ।

* जइदीको जुत्ता प्रहारबारे अल बग्दादिया टेलिभिजन स्टेसनमा फोन गर्ने अधिकांश दर्शकले जइदीको कदमको स्वागतका साथै प्रशंसा गरेका छन् ।
* लिबियाका नेता मुहम्मद अल गद्दाफीकी छोरीले नेतृत्व गरेको एक च्यारिटी संस्थाले अल-जइदीलाई साहसिक पदक दिएको छ । सो च्यारिटी संस्थाले जइदीको रिहाइको माग पनि राखेको छ ।
* सिरियामा पनि जइदीलाई नायकको संज्ञा दिइएको छ । जइदीले बुसलाई हिर्काएको जुत्ता किन्न साउदी अरबका व्यापारीले एक करोड डलर तिर्ने घोषणा गरेका छन् । 'जुत्ता म्युजियममा प्रदर्शन गरिनुपर्छ । किनभने, यो इराकी जनताको रकेट हो,’ अरेबियन बिजनेस म्यागेजिनको वेबसाइटमा लेखिएको छ ।

जइदीलाई 'सिंहको
मुटु भएका नायक’ भन्ने उपाधि उनलाई दिएको छ
* जइदीले सोसल नेटवर्किङ साइट फेसबुकबाट पनि समर्थन पाएका छन् । जइदीप्रति समर्थन गर्दै फेसबुकमा जइदीका प्रशंसकको एक समूह नै बनेको छ । 'बुसलाई जुत्ता हान्ने इराकी पत्रकार अब मेरा नायक’ त्यस समूहले लेखेको छ । यस समूहमा मध्यपूर्व, युरोप, अफ्रिका र अमेरिकाका सदस्य छन् । लेबनानको एनटिभीले जइदीलाई रोजगारी दिने घोषणा गरेको छ । 'बुसलाई जुत्ता प्रहार गरेको क्षणदेखि नै जइदीलाई तलब दिने घोषणा सो च्यानलले गरेको छ ।

* अमेरिकी राष्ट्रपति बुसको विरोध गर्ने जइदीको शैलीप्रति रिपोर्टस् विदाउट बोर्डर्सले विरोध गरे पनि गिरफ्तारीका क्रममा जइदी घाइते भएको र उनको रिहाइ हुनुपर्ने माग गरेको छ ।
* जइदीको सिको गर्दै बुसलाई जुत्ता हान्ने अवसर सबैलाई प्रदान गर्न एक कम्प्युटर गेम नै बनाइएको छ । बेलायतका एलेक्स ट्युले बनाएको कम्युटर गेममा बुसलाई जुत्ताले हिर्काउन सकिन्छ । www.sockandawe.com कम्युटर गेम साइटमा मंगलबारसम्म १० लाख ४० हजारले बुसलाई जुत्ता हानिसकेका थिए ।

* सद्दाम हुसेनविरुद्ध अमेरिकी सेनाको सैनिक कारबाहीको नाम पनि 'सकएन्डओ’ राखिएको थियो । गेममा रोस्ट्रमभित्र रहेका बुसलाई जुत्ता हिर्काउन ३० सेकेन्ड समय दिइन्छ ।
* बुसलाई जुत्ता प्रहारको घटना अफ्गानिस्तानमा पनि निकै लोकपि्रय बनेको छ । त्यहाँका टेलिभिजन स्टेसनले बुसलाई जइदीले जुत्ता प्रहार गरेको दृश्य बारम्बार देखाइरहेका थिए । यससम्बन्धी कमेडी शो पनि अफ्गानिस्तानमा बनेको छ । इराकी जनतासँग ऐक्यबद्धताको सन्देश पुर्‍याउन कमेडी शो गरिएको निर्माताले बताएका छन् ।

* जइदीले बुसलाई जुत्ता प्रहार गरेको घटनालाई ह्युगो चाभेजले प्रशंसा गरेका छन् । उनले इराकी जनताका तर्फबाट जुत्ता प्रहार गरेको चाभेजले बताए । व्यक्तिगत रूपमा आफूले कसैलाई पनि जुत्ता प्रहार गरेको मन नपराए पनि यस घटनालाई 'जनताको सम्मानको जुत्ता प्रहार’ भन्न मिल्ने उनले बताए । 'सबैले यो सम्झनैपर्छ, बुसले इराकी जनतामाथि जुत्ता फालेनन्, बम, मृत्यु र विध्वंस प्रहार गरे,’ उनले भने । जइदीको परिवारलाई भेनेजुयलामा आउन र त्यहीँ बस्न भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजले निम्तो दिएका छन् । तर, उनको परिवारले यो प्रस्ताव अस्वीकार गरेको छ । 'हामी राष्ट्रपति चाभेजप्रति आभारी छौँ । तर, हामी इराकी भएकाले इराकमै बस्न रुचाउँछौँ,’ जइदी परिवारका तर्फबाट ओउदाई अल-जइदीले भने ।

* पाकिस्तानमा पनि जुत्ता प्रहारको स्वागत गरिएको छ । पाकिस्तानी वकिलले जुत्ता प्रहार गर्ने जइदीको प्रशंसा गरेका छन् । 'यस घटनाले बुसलाई अन्तर्राष्ट्रिय समूहले घृणा गर्छ भन्ने देखाउँछ,’ मियान मुहिबुल्ला काकाखेलले भने । काकाखेल पाकिस्तानको सर्वाच्च अदालतका वरिष्ठ अधिवक्ता हुन् । बुसलाई प्रहार गरिएको जुत्ताको सुरक्षा गर्न आफू तयार रहेको उनले बताए । तर, इराकी सरकारले जइदीको कार्यलाई 'लाजमर्दा’ भन्दै अल बग्दादिया टेलिभिजनले माफी माग्नुपर्ने बताएको छ ।

* इरानी टेलिभिजनले पनि बुसलाई जुत्ता प्रहार गरिएको दृश्य दोहोर्‍याई-तेहर्‍याई देखाइरहे । 'यस घटनाले मध्यपूर्वमा बुसले कति शत्रुता सिर्जना गरेका रहेछन् भन्ने देखाउँछ,’ इजिप्टका पूर्वविदेशमन्त्री अहमद माहेरले बताए ।
* एक इस्लामिक वेबसाइटमा जइदीका बारेमा कविता पोस्ट गरिएको छ । कवितामा जइदीलाई 'सिंहको मुटु भएका नायक’ भन्ने उपाधि उनलाई दिएको छ । 'इराकी पत्रकार सच्चा र स्वतन्त्र बग्दादवासी हुन्,’ साउदी कम्पनीमा कार्यरत अबु फायसलले भने, 'सहासिला जइदीले हामीलाई गौरवान्वित बनाए । बुसले इराकलाई ध्वस्त पारे । उनलाई जुत्ताले हिर्काउनैपर्छ ।’

* साउदी विश्वविद्यालयमा सोसल पोलिटिक्सका लेक्चरर खालिद अल-दाखिल भन्छन्, 'बुसले सद्दाम हुसेनसित आमविनाशका हतियार भएको झूटो आरोपमा इराकमा आक्रमण गरेर युद्धअपराध गरेका छन् ।’
* प्यालेस्टाइनमा पनि यस घटनाको स्वागत गरिएको छ । 'बुस अमेरिकाका लागि नै बदनाम छन् । उनको नाम अवश्य नै इतिहासमा घृणित पात्रका रूपमा आउँछ । विश्वभरिका मानिसले बुसका घृणित कार्यका लागि सधैँभर उनलाई सम्झिनेछन्,’ ६७ वर्षे एसोदोला गोराबानीले भने । बुसले विश्वका लागि केवल समस्या मात्रै पैदा गरेको ५९ वर्षे प्रबिन अलोसीले बताए ।

* हजबोल्ला विज्ञ अमल साद-गोरएव भन्छिन्, 'यो सशक्तीकरणको एउटा संकेत हो ।’ जइदीले बुसको लिगेसीलाई मात्र घृणित नभनेर हामी तिमीलाई तल्लो दर्जाको नायकका रूपमाहेर्छौं भने । उनले बुसलाई 'हामी तिमीलाई हराउन र जित्न सक्छौँ’ पनि भने ।
* जोर्डन युनिभर्सिटी सेन्टरका अनुसन्धाता मोहमद अल-मसारी पनि जइदीको जुत्ता प्रहारलाई सांकेतिक रूपमा हेर्छन् । 'जइदीको जुत्ता प्रहारलाई अरब जनता बुसको असफल नीतिले उब्जाएको निराशाको संकेतका रूपमा सम्झनेछन्,’ मसारी भन्छन् ।

No comments: